Search This Blog

Saturday, February 26, 2011

झापड हान्ने तारेख धाउँदै

उनले झापड हानेका व्यक्ति देशको प्रधानमन्त्री भइसकेका छन्। देशविदेशका मिडियामा उनी छाइसकेका छन्। प्रधानमन्त्री निर्वाचनका बेला संसदमा नै नेताहरुले उनको झापडको बारेमा कुरा उठाएका थिए। प्रचण्डले अझै प्रधानमन्त्री नचुनिने हो भने जनताले अहिले त एक दुई झापड मात्रै हानेका छन्, अब जुत्ता हान्न थाल्नेछन् भने। प्रकाशचन्द्र लोहनीले थुप्रै झापडबहादुर जन्मने छन् अब भनेका थिए। प्रधानमन्त्री भइसकेपछि बीबीसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीले झापडवालालाई बालुवाटारमा आमन्त्रण गर्द‍ै उनीसित कुरा गर्न चाहेको पनि बताएका थिए।
तपाईँलाई लाग्यो होला, अब झापड मुद्दा सकिसकेको छ। अहँ, तपाईँ गलत हुनुहुन्छ। ब्लगमा यसअघि पनि हामीले भनेका थियौँ, उनीविरुद्धको मुद्दा फिर्ता लिइएको छैन। उनलाई त धरौटीमा मात्र रिहा गरिएको हो। नभन्दै आज देवीप्रसाद रेग्मीलाई सुनसरीका सीडीओले एक महिने तारेख थपेको छ। अब उनी चैत १० गते फेरि सीडीओ कार्यालयमा उपस्थित हुनुपर्नेछ। मुद्दा हाल्नेले मुद्दा फिर्ता नलिएसम्म र मुद्दाको टुंगो नलागेसम्म यो क्रम जारी रहनेछ।
तपाईँलाई याद होला, यस्तै सार्वजनिक मुद्दा पूर्व युवराज पारस शाहलाई पनि परेको थियो। उनी पनि धरौटीमा नै रिहा भएका थिए। तर उनले भने यस्तो तारेख धाउनु परेको छैन। किनभने सानालाई ऐन ठूलालाई चैन !
झलनाथ खनालले माफी दिइसकेको बताए पनि सार्वजनिक अपराध ऐन अन्तर्गत एमाले सुनसरी जिल्ला कार्यालय सचिव गोविन्द कार्कीले मुद्दा दर्ता गरेका हुन्। उनलाई कारबाही गराउन इटहरीमा एमालेले चक्काजाम गरेर आन्दोलनै गरेको थियो त्यतिबेला।
रेग्मीको क्रेज भने अझै घटिनसकेको आज सीडीओ कार्यालयमा उपस्थित हुँदा उनलाई हेर्न आउनेको भीडले पुष्टि गरेको थियो। तपाईँहरुले कार्टुनमा मात्र ठान्नुभएको होला, साँच्चिकै पनि उनको घरमा मानिसहरु आउँछन् रे। अनि उनको लक्की ठानिएको हातबाट आफैलाई गालामा हिर्काउने गर्छन् रे। भाग्यवादी नेपालीहरु !

From Mysansar.